चैत्र १५ गतेको घटनामा पक्राउ परेका नेताहरुलाई रिहाइ नगरे सामूहिक गिरफ्तारी दिन्छौं -जगमान गुरुङ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, चैत्र २७ । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले चैत्र १५ गतेको घटनामा पक्राउ परेका नेताहरुलाई रिहाइ नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गर्नुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित प्रतिवद्धता सभामा बोल्दै गुरुङले वैशाख २१ गतेसम्म तीनकुने घटनामा पक्राउ परेकालाई रिहाइका साथै नवराज सुवेदीको नजरबन्द फुकुवा नभए वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा गर्नुभएको हो ।

सामूहिक गिरफ्तारीको अगुवाई आफुले गर्ने उहाले बताउनुभयो । उहाले अव आफुहरुको आन्दोलन भ्रद्र अवज्ञा प्रकारको हुने उल्लेख गर्नुभयो । अहिले सशस्त्र आन्दोलनको आवश्यकता नरहेको उहाको भनाइ छ । गुरुङले राजावादीको आन्दोलन कमजोर भएको हल्ला फैलाइएको भन्दै अहिले आफुहरु योजनामा व्यस्त रहेको उल्लेख गर्नुभयो । उहाले वैशाख २१ देखि एक्सनमा जाने जिकिर गर्नुभयो ।

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत्र १५ गते तीनकुनेमा आयोजना गरिएको सभालाई राज्यले हिंसात्मक बनाएको आरोप लगाउनुभयो । राजावादीहरुलाई कमजोर र बद्नाम गराउन राज्यले उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप थुपार्ने काम गरेको उहाले बताउनुभयो ।

उहाले संघीय धर्म निरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरि संविधान संशोधनको प्रयास भएको भन्दै त्यसो गरिए देशमा आगो बल्ने चेतावनी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्