कोशीको पर्यटन देशको अर्थतन्त्रलाई चलायमान बनाउने केन्द्र बन्न सक्छ : उपप्रधानमन्त्री सिंह

रेडियो काठमाण्डु
  • ख-
  • ख+

तेह्रथुम, वैशाख २६ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले कोशी प्रदेशलाई पर्यटनको अपार सम्भावना बोकेको क्षेत्रको रूपमा चित्रण गरेका छन्।

बुधबार तेह्रथुममा आयोजित ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले कोशी प्रदेशले नेपालको मात्र होइन, अन्तर्राष्ट्रिय पर्यटकलाई पनि आकर्षित गर्ने क्षमता राख्ने बताए। उनले भने, “कोशी प्रदेश भारत र चीनसँग जोडिएको प्रदेश हो।

यहाँ विश्वकै सर्वोच्च सगरमाथादेखि होचो कचनाकवलसम्म फैलिएको अनुपम भूगोल छ। यस्तो विविधता भएको प्रदेश हेर्न लायक मात्र होइन, अनुभव गर्न लायक पनि छ।” सिंहले पर्यटन वर्षका गतिविधिहरू कोशी प्रदेश मात्र नभई सम्पूर्ण राष्ट्रको अर्थतन्त्रलाई गति दिने महत्वपूर्ण माध्यम बन्ने बताए। “अहिलेको आर्थिक मन्दीलाई तोड्न पर्यटन एक प्रभावकारी हतियार हुनसक्छ,” उनले स्पष्ट गरे। उनले कोशी प्रदेशमा पाइने २८ प्रकारका लालिगुराँसहरूको विशेषता उल्लेख गर्दै, यसको प्रचारप्रसार गर्न सके विश्वभरिका पर्यटक आकर्षित गर्न सकिने बताए।

त्यसैगरी साहसिक खेलकुद, सांस्कृतिक कार्यक्रम र प्राकृतिक सुन्दरताले यो प्रदेशलाई अन्तर्राष्ट्रिय पर्यटन नक्शामा उभ्याउने विश्वास व्यक्त गरे। पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार विकासमा सरकार गम्भीर रहेको भन्दै, सिंहले सडक तथा अन्य आधारभूत संरचनाको निर्माणमा प्राथमिकता दिइने बताए। “सरकार जनतालाई केन्द्रमा राखेर काम गरिरहेको छ,” उनले भने।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्