
काठमाडौं, बैशाख ९ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी भइरहेको बताउनुभएको छ । नेपाल जग्गा तथा आवास विकास महासङ्घको तेस्रो स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले भूमिसम्बन्धी ऐन निकै पुरानो भएकाले काम गर्न समस्या देखिएकाले परिमार्जनको तयारी भइरहेको बताउनुभएको हो ।
उहाले नयाँ नापी ऐनको ड्राफ्ट समेत मन्त्रालय तयार गरेको जानकारी दिदै अव छलफल गर्दै मन्त्रिपरिषद्मा लैजाने जानकारी दिनुभयो । उहाले स्वबासी, गुठी लगाएतका जग्गामा देखिएको समस्या समाधान गर्नका लागि समिति गठन गर्ने र त्यसको प्रतिवेदनका आधारमा सरकारले आवश्यक निकास निकाल्ने उल्लेख गर्नुभयो ।
उहाले जग्गा तथा आवास कारोवारलाई सहज गर्न उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री अधिकारीले घर जग्गा व्यवसायमा देखिएका नकारात्मक भाष्यलाई चिर्दै मुलुकको प्रचलित कानुनअनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो ।