एमालेको पोलिटब्युरो बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव पेश

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, साउन २ । नेकपा एमालेको पोलिटब्युरो बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव पेश गरिएको छ ।
पार्टी कार्यालय च्यासलमा शुक्रबारबाट सुरु भएको पोलिटब्युरो बैठकमा पार्टी उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव पेश गर्नुभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

संशोधित विधानमा १९ सदस्यीय पदाधिकारीलाई १५ जनामा झार्न प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी पनि २५१ सदस्यीयमा सीमित बनाउने गरी प्रस्ताव पेश भएको छ भने केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहने गौतमले बताउनुभयो ।

त्यस्तै ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ । विधान संशोधन प्रस्तावमाथि किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापाले धारणा राखेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो ।

त्यस्तै बैठकमा सदस्यहरुले उमेर हद र कार्यकाल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा सक्रिय हुने निर्णय लगाएतका बिषयमा धारणा राखेको उहाले बताउनुभयो । बाइट…………

पोलिटब्युरो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनका बिषयमा गलत भाष्य निर्माण गर्न खोजिएको बताउनुभएको थियो । पूर्वराष्ट्रपति भण्डारीका बिषयमा ओलीले देशको उच्च गरिमामय पदमा बसिसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्ने कुरा गम्भीर बिषय भएकाले यसमा पार्टीले उचित निर्णय गर्ने समेत बताउनुभएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । पोलिटब्युरो बैठक शनिबार बिहान ११ बजे पुन बस्ने उहाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी