काठमाडौं, भदौ ९ । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउदै नेपाल शिक्षक महासंघले सोमबारबाट पुनः आन्दोलन सुरु गरेको छ ।
सरकारले आफुहरुसंग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेको भन्दै महासंघले पुन आन्दोलन सुरु गरेको हो । पहिलो चरणको आन्दोलन अन्तर्गत महासंघले सोमबार प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र दर्ता गरेको छ भने शिक्षामन्त्रीका साथै प्रमुख राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकषणपत्र बुझाएको छ ।
महासंघको ध्यानार्षण पत्र बुझ्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले महासंघले उठाएका बिषयहरुप्रति एमाले संसदीय दलको ध्यानाकर्षण भएको भन्दै सरोकारवाला निकायसंग छलफल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाले विधेयक तयार पार्न अधिकतम प्रयास गरेकाले राम्रा कुरालाई स्वागत गर्न आग्रह गर्नुभयो । महासंघले उठाएका बिषयलाई मिलाउने ठाँउ रहेको उहाको भनाइ छ ।
विधेयकमा उल्लेख धेरै बिषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै बिषयहरु अझै पनि सम्बोधन हुन नसकेकाले बाध्य भएर आन्दोलन सुरु गर्नुपरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो । उहाले भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउदै २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने जानकारी दिनुभयो ।
अध्यक्ष सुवेदीले अहिले महासंघले नयाँ बिषय उठान नगरेको र यसअघि भएको सहमतिको कार्यान्वयन हुनुपर्ने माग रहेको स्पष्ट पार्नुभयो ।





