काठमाडौं, कार्तिक २४ । नेकपा एमालेमा समाहित भएपछि नेतृ रामकुमारी झांक्रीले आफू व्यक्तिगत अवसर र लाभ लिन एमालेमा नफर्किएको बताएकी छन्।
सोमबार राष्ट्रियसभा गृहमा आयोजित घर फर्क अभियानमार्फत पार्टी प्रवेश गरेकी उनले सम्बोधन गर्दै हजारौँ पार्टी सदस्यले प्राप्त गर्ने अवसरमा लामबद्ध हुन एमालेमा आएको दाबी गरिन्।
‘नौजवान र जेनजी साथीहरू आउनुस्, गोलबन्द बनौँ। रामकुमारी झाँक्री कुनै अवसर खोजेर न हिजो हिँडेको न आज हिँडेको, म आज भन्दै छु, सयौँ आँखा र नेतृत्वको अगाडि कुनै अवसर होइन। अवसरहरू निर्माण गर्न हजारौँ पार्टीका सदस्यहरूले अवसर प्राप्त गर्ने संघर्षमा लामबद्ध हुन आएको हुँ। व्यक्तिगत अवसर र लाभका लागि होइन,’ उनले भनिन्।
देशको क्षति रिकभर गर्न एमाले उठ्नपर्ने बेला भएको उनको भनाइ थियो।





