५ भदौ, काठमाडौं । हरितालिका तीजको अवसरमा नेपाली कला, संस्कृति र संगीतलाई प्रवासमा पनि निरन्तरता दिने उद्देश्यले अष्ट्रेलियाको सिड्नीमा ‘दिदीबहिनी तीज साँझ–२०२६’ आयोजना हुने भएको छ।
अगस्ट २२, शनिबार साँझ ५:३० बजेदेखि Indreni Function Centre, Sydney मा हुने कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाली लोक तथा दोहोरी क्षेत्रका बहुचर्चित कलाकारहरू गायक अर्जुन सापकोटा, पशुपति शर्मा, देवी घर्ती, गायिका एलिना चौहान, कलाकार अन्जली अधिकारी, निशा केसी लगायतको प्रस्तुति रहनेछ। कार्यक्रमको सञ्चालन लोकप्रिय सञ्चारकर्मी तथा गायिका मन्जु पौडेल ले गर्नेछिन्।
तीजको सांगीतिक माहोललाई थप मनोरञ्जनात्मक बनाउन कार्यक्रममा सांगीतिक प्रस्तुतिसँगै लाइभ दोहोरी, नृत्य तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत समावेश गरिएको छ। कार्यक्रममा सहभागी हुने दर्शकका लागि ३–Course Meal को समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
अष्ट्रेलियामा रहेका नेपाली कलाकार तथा सांगीतिक क्षेत्रका व्यक्तित्वहरू बिन्दु पौडेल र सुमन पोखरेल लगायतको सहकार्य तथा सक्रियतामा कार्यक्रमको तयारी भइरहेको छ।
नेपालबाट आउने चर्चित कलाकार र अष्ट्रेलियामा रहेका नेपाली प्रतिभाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने भएकाले यस वर्षको तीज कार्यक्रम विशेष हुने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार ‘दिदीबहिनी तीज साँझ–२०२६’ अगस्ट २२ गते शनिबार साँझ ५:३० बजेबाट सिड्नीस्थित Indreni Function Centre मा सुरु हुनेछ। कार्यक्रममा सहभागी भएर तीजको सांस्कृतिक उत्सवलाई सामूहिक रूपमा मनाउन सिड्नी तथा आसपासमा रहेका नेपाली समुदायलाई आयोजकले आग्रह गरेको छ।
टिकट सीमित रहेकाले इच्छुक दर्शकलाई समयमै टिकट बुक गरी कार्यक्रममा सहभागी हुन पनि आयोजकले अनुरोध गरेको छ।






