पर्सा प्रहरीको कारबाही : ७० लाखभन्दा बढीका अवैध सामान बरामद, २०७ जना पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

रौतहट, २ मंसिर। जिल्ला प्रहरी कार्यालय पर्साले कार्तिक महिनामा अवैध गतिविधि नियन्त्रण तथा अपराध अनुसन्धानलाई तीव्रता दिँदै ७० लाख ७० हजार रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ। प्रहरीले विभिन्न अपराधमा संलग्न तथा अदालतबाट सजाय तोकिएका गरी एक महिनाको अवधिमा २०७ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको कार्तिक महिनाको प्रगति विवरणअनुसार अपराध अनुसन्धानका क्रममा चालु मुद्दाका १२२ जना प्रतिवादी पक्राउ परेका छन्। त्यस्तै अदालतको फैसला कार्यान्वयनका क्रममा ८५ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूबाट २५ वर्ष १० महिना ३ दिन कैद सजाय कार्यान्वयनका साथै ३२ लाख ७ हजार ६३२ रुपैयाँ जरिवाना असुलीको प्रक्रिया अघि बढाइएको छ।

भन्सार छली तथा राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत प्रहरीले ७० लाख ७० हजार ७९६ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार तथा तस्करी नियन्त्रणका लागि प्रहरीले चेकजाँच र निगरानीलाई तीव्र बनाएको जनाएको छ।

त्यसैगरी अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रणका क्रममा ६ हजार २६३ लिटर तयारी मदिरा र ६ हजार ३८० लिटर कच्चा पदार्थ बरामद गरिएको छ। उक्त कारबाहीमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध कारोबार तथा ओसारपसारविरुद्ध सञ्चालन गरिएको अभियानमा १४ वटा मुद्दा दर्ता भएका छन्। प्रहरीले यसमा संलग्न १७ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ३८ ग्राम गाँजा, ६५ ग्राम ८५८ मिलिग्राम ब्राउन सुगर, १४ ग्राम ६४० मिलिग्राम अफिम तथा विभिन्न प्रकारका लागूऔषधजन्य औषधि र इन्जेक्सन बरामद गरिएको छ।

प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ बालुवा, ढुंगा तथा गिट्टीको अवैध उत्खनन र ओसारपसारमा प्रयोग भएका १० वटा ट्र्याक्टर नियन्त्रणमा लिइएको छ। ती सवारीसाधनमाथि कारबाही गर्दै ५० हजार रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै अवैध वन पैदावार ओसारपसार नियन्त्रणका क्रममा १० वटा सवारीसाधन नियन्त्रणमा लिएर ३९ क्विन्टल काठ बरामद गरिएको छ। उक्त कारबाहीबाट एक लाख ९५ हजार रुपैयाँ राजस्व तथा जरिवाना संकलन भएको विवरणमा उल्लेख छ।

प्रहरीको तथ्यांकअनुसार कार्तिक महिनामा पर्सा जिल्लाभरि विभिन्न प्रकृतिका ११८ वटा अपराधका घटना दर्ता भएका छन्। तीमध्ये सामाजिक अपराधका ४९, संगठित तथा आर्थिक अपराधका २२, ज्यानसम्बन्धी ११, आत्महत्याका ८, चोरीका ८, महिला तथा बालबालिकासम्बन्धी ४, सवारी ज्यानसम्बन्धी २ र अन्य प्रकृतिका १४ घटना रहेका छन्।

यसैगरी बैंकिङ कसुरका १४, जुवातासका २ र ठगीका २ गरी आर्थिक अपराधका १८ वटा मुद्दा दर्ता भएका छन्।

सवारी दुर्घटनातर्फ एक महिनामा ३७ वटा दुर्घटना हुँदा दुई जनाको मृत्यु र २८ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने ९४१ वटा सवारीसाधनमाथि कारबाही गरी १० लाख ८७ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ।

प्रहरीले अपराध नियन्त्रण, तस्करी रोकथाम र शान्ति सुरक्षा कायम गर्न नियमित गस्ती, रात्रीकालीन चेकजाँच तथा सीमा क्षेत्रमा २४ सै घण्टा प्रहरी परिचालन गरिएको जनाएको छ।

एक महिनाको तथ्यांकले पर्सामा भन्सार छली, लागूऔषध कारोबार, अवैध मदिरा र वन पैदावारको अवैध ओसारपसार नियन्त्रणमा प्रहरीको सक्रियता देखाए पनि सीमावर्ती जिल्लामा यस्ता गतिविधि निरन्तर चुनौतीका रूपमा रहेको संकेत गर्छ। विशेषगरी अवैध कारोबारको जालो नियन्त्रण गर्न सीमा सुरक्षा निकाय, भन्सार प्रशासन र प्रहरीबीच थप प्रभावकारी समन्वय आवश्यक देखिन्छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उक्त विवरण उल्लेख गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी