विमानस्थलमा सुन आउँदैछ भन्ने सूचना केही दिन पहिल्यै थियो : भन्सार प्रमुख

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले तस्करीको सुन विमानमार्फत आउँदैछ भन्ने सूचना आफूलाई केही दिनअघि नै आएको बताएका छन् ।

सूचनाका आधारमा दुई दिनअघिदेखि आफूहरु परिचालित भएको उनले बताएका छन् । शुक्रबार कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर पाण्डेले भने, ‘त्यही सूचनाको आधारमा हिजो पनि प्रहरीसहितको टोली बसेर चेकजाँचमा कडाइ गरेका थियौं ।’

उनका अनुसार, भन्सार र प्ररहीको संयुक्त टोलीले विमानस्थलमा आउने र जाने शंकास्पद व्यक्तिहरुलाई निगरानी गरिरहेको थियो ।

‘अघिल्लो दिन पनि केही विमानलाई अनुसन्धानको दायरामा ल्याएका थियौं, तर सुराकी अनुसार मालवस्तु फेला परेको थिएन’, पाण्डेले थपे, ‘हिजो १० केजीजति सुन प्राप्त हुने सुराकीका आधारमा दिउँसादेखि परिचालित थियौं, राति १४ किलो फेला पर्‍यो ।’

त्यसक्रममा विमानस्थल भन्सार कार्यालयले बिहीबार राति ११ः४० बजे फ्लाई दुबईको जहाजमा आएका एक व्यक्तिलाई पक्राउ गरेर १४ किलो सुन बरामद गरेको छ ।

पाण्डेका अनुसार, फ्लाई दुबईको उडा नं। एफजेड ५७३ बाट आएका रसुवाका चन्द्र घलेलाई भन्सारका अधिकारी र प्रहरीले विमानभित्रै पक्राउ गरेका थिए ।

‘उनीसँग सुन छ भन्ने यकिन भएपछि त्यहीँ नियन्त्रणमा लिएर एक्सरेमा ल्याएका थियौं’, उनले भने, ‘त्यसक्रममा उनले छातीको दायाँ बायाँ लगाएको ज्याकेटभित्रका खल्तीमा दुई÷दुई किलोको ७ वटा सुनको विस्कुट फेला पर्‍यो ।’

उनीसँग सोधपुछ गर्ने क्रममा उनले सुन गोरखाका मिनबहादुर घलेका लागि ल्याइदिएको बयान दिएका थिए । त्यसको आधारमा प्रहरीले घलेलाई पनि पक्राउ गरेको पाण्डेले बताए । छानबिनका लागि भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा समिति समेत गठन भएको छ ।

समितिमा नेपाल प्रहरीका डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य छन् । उनीहरुलाई ५ दिनभित्र छानबिन गरेर प्रतिवेदन बुझाउन भनिएको सहसचिव पाण्डेले बताए ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबारै रसुवा नाकाबाट आएको दुई किलो अवैध सुन समेत बरामद गरेको छ । कार्यालयले तीन दिनअघि न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन समेत बरामद गरेको थियो ।

केहीअघि विमानस्थलको सबै सुरक्षा जाँच पार भएर बाहिरिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसअघि भेपमा लुकाएर ९ किलो सुन ल्याएको समेत खुलेको थियो । यो मामलामा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल अहिले पनि थुनामा छन् ।

सुन प्रकरणको अनुसन्धानका लागि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्ली आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको छ । समितिले प्रकरणका आरोपीहरुको अहिले बयान लिइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्