मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छः काँग्रेस नेता सिंह

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, २३ माघ ।  नेपाली काँग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताउनुभएको छ ।

छत्र पाटी निःशुल्क चिकित्सालयको ६७ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले वि.स २०४६ सालको परिवर्तनपछि नेपालको स्वास्थ्य क्षेत्रले ठुलो फड्को मारेको बताउनुभएको हो ।

उहाँले छत्र पाटी निःशुल्क चिकित्सालय अस्पताल स्थापनाका लागि तत्कालीन मन्त्री स्वर्गीय गणेशमान सिंह र क्षेत्र पाटी क्षेत्रका जनताको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्नुभयो ।

छत्र पाटी चिकित्सालयको जमिन तत्कालीन नगरपालिकासँग कुरा गरेर सरकारले चिकित्सालयलाई उपलब्ध गराउन गणेशमान सिंहको भूमिका महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । उक्त चिकित्सालयले क्षेत्र पाटी क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा सो चिकित्सालयमा पाँच र दश वर्ष अनवरतरुपमा सेवा प्रदान गर्ने कर्मचारी र सेवा निवृत्त कर्मचारीलाई सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्