पछिल्लो राजनीतिक कदमले देश र जनतामा नयाँ उत्साह थपिएको छ -प्रधानमन्त्री

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, चैत्र १७ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पछिल्लो राजनीतिक कदमले देश र जनतामा नयाँ उत्साह थपिएको दाबी गर्नुभएको छ ।

शनिबार काठमडौंमा रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले सकेसम्म देश र जनताको हितको लागि सबै दललाई विश्वासमा लिएर राष्ट्रिय सहमति कायम गर्नको लागि भूमिका खेलेको समेत दावी गर्नुभयो । उहाले कतिपय अवस्थामा आफू एमालेसँग नजिक हुँदा कांग्रेसजनलाई र कांग्रेससँग नजिक हुँदा एमालेका साथीहरुलाई नमिठो लागेको पनि यथार्थ सुनाउनुभयो ।

उहाँले आजको प्रमुख राजनीतिक कार्यभार प्राप्त राजनीतिक अधिकारहरू सुदृढ गर्दै संविधानको प्रगतिशील कार्यान्वयन सुनिश्चित गर्नु र त्यसको जगमा समाजवादउन्मुख समृद्धि हासिल गर्नु रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले आर्थिक समृद्धिको राष्ट्रिय अभियान नै थाल्नुपर्ने बेलामा मुलुकलाई पछाडि फर्काउने या यथास्थितिमै राख्ने या कुनै पनि कोणको अतिवादलाई प्रश्रय दिने गतिविधिलाई अब कसैले कहिल्यै स्वीकार नगर्ने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा फेरबदल ल्याउने र बजेटलाई जनताको हितमा केन्द्रित गर्ने बताउनुभयो । यो पटकको नीति तथा कार्यक्रम र बजेटले राष्ट्र र जनतासामू नयाँ रक्तसञ्चार तय गर्ने उहाले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले मुलुकलाई चाहिएको सुशासन र समृद्धिको लागि त्यहीअनुसार आफ्नो भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रह समेत गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्